You are viewing the translated version of लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने.

Rule 11
लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने
ऐनको दफा २० बमोजिम कुनै विदेशी लगानीकर्ताले आफूले गरेको विदेशी लगानी वा त्यसबाट आर्जित रकम फिर्ता लैजान चाहेमा देहायका विवरण तथा कागजात सहित अनुसूची-४ बमोजिमको ढाँचामा विदेशी लगानी स्वीकृत गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछः-
(क) विदेशी लगानीकर्ताले गरेको लगानी वा सो लगानीबाट आर्जित रकम फिर्ता लैजाने सम्बन्धमा सम्बन्धित कम्पनीको साधारण सभा र सञ्चालक समितिको निर्णय,
(ख) कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत र सञ्चालक लगत,
(ग) कम्पनीको अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ताको प्रमाणपत्र,
(घ) सम्बन्धित लगानीकर्ताले प्रचलित कानून बमोजिम लगानी भित्र्याएको प्रमाण,
(ङ) विदेशी लगानीको शेयर बिक्री बापतको रकम भए शेयर बिक्री भएको स्वीकृति पत्र र स्वीकृत शेयर खरिद बिक्री सम्झौताको प्रतिलिपि,
(च) विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, सोको वितरण सम्बन्धमा कम्पनीको साधारण सभाको निर्णय, प्रचलित कानून बमोजिम बोनस वितरण गरेको प्रमाण र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
(छ) लिज लगानी अन्तर्गत लिज सम्झौता बापत भुक्तानी गर्नुपर्ने भएमा सो सम्बन्धी कागजात,
(ज) नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानूनी प्रक्रिया बमोजिम अन्तिम निर्णय भई भुक्तानी गर्नु पर्ने हर्जाना वा क्षतिपूर्ति बापतको रकम भए सो सम्बन्धी कागजात,
(झ) रोयल्टी बापतको रकम भए सोसँग सम्बन्धित कागजात,
(ज) नियम १० बमोजिम नेपालमा आर्जित सम्पत्तिको बिक्री वा हक हस्तान्तरण गरेको विवरणको अभिलेखन भएको प्रमाण,
(ट) विदेशी लगानी स्वीकृत गर्ने निकायले माग गरेका अन्य आवश्यक कागजात ।